प्रकाश शाही

सङ्गठित आन्दोलनको इतिहासका हिसाबले नेपाली विद्यार्थी आन्दोलनले सात दसक पार गरेको छ, यसलाई विश्वभरिका विद्यार्थी आन्दोलनका आँखाबाट हेर्दा यो समय धेरै लामो त होइन तर नेपालको सापेक्षतामा भने यो समय लामो हो । यसले आफ्नो क्षेत्रमा गरेको परिवर्तन र उथपुथलका योगबाट हेर्दा यो आन्दोलनले एउटा युगको प्रतिनिधित्व गरेको छ र यसले ऐतिहासिक महत्त्वका काम र परिवर्तन गरेको छ । नेपाली युवा विद्यार्थीहरूले यहाँका हरेक सङ्घर्ष, क्रान्तिहरूमा वीरता, बलिदानी र गौरवका हजारौँ कीर्तिमानी राखेका छन् र यसले नयाँ पुस्तालाई नयाँ सम्भावना र परिवर्तनका लागि ओतप्रोत र उद्वेलित गरेको छ, जुन यो आन्दोलनभित्रको उज्यालो पक्ष हो । भलै यसभित्र केही टुटफुट, विचलन र गद्दारीहरू पनि भए तर यी नगन्य मात्रामा छन् । यस नकारात्मकताबाट हामीले सिक्नुहुँदैन, यसको सकारात्मक पक्ष नै बढी छ । यसैबाट हामीले सिक्नु र गर्व गर्नुपर्दछ ।

यो आन्दोलन विद्यार्थी समुदायको मुद्दा र जनताको जनजीविकाको राजनीतिक मुद्दामा सँगसँगै केन्द्रित रह्यो । यसो हुनुमा हाम्रो देशको वस्तुगत अवस्था र आवश्यकताले पनि काम गर्यो भन्ने लाग्छ । जसका कारण विद्यार्थी आन्दोलन आफ्ना शैक्षिक एजेन्डामा मात्र सामेल नभई राजनीतिक परिवर्तनमा अलि ज्यादा सामेल भयो । केही राजनीतिक मुद्दा र जनजीविकाको सन्दर्भमा त यो राजनीतिक दलहरूभन्दा अगाडि बढेर जनताको राजनीतिक अधिकार र सामाजिक न्यायका लागि सङ्घर्ष र बलिदानका सयौँ कोटा चुकाएको छ । चिनियाँ काजी, कामेश्वर, कुशेश्वर, मित्रमणि, नेपाली जनयुद्धमा दिलबहादुर रम्तेल, बेनोज अधिकारी, ज्ञानप्रसाद चालिसेलगायत र अहिलेको एकीकृत जनक्रान्तिमा सहादत प्राप्त गर्ने हाम्रो सङ्गठनका केन्द्रीय सदस्य प्रज्वल शाहीसम्मले उच्च बलिदान गर्नुभएको छ । आज पनि विद्यार्थी नेताहरू पूर्ण पौडेल, विपीन भण्डारीहरू बेपत्ता हुनुहुन्छ । यो आन्दोलनले यहाँ भएका हरेक राजनीतिक परिवर्तनहरूमा आफ्नो अमूल्य योगदान दिएको छ । यस कारणले पनि नेपाली विद्यार्थी आन्दोलन अग्रगामी र गतिशील आन्दोलन हो । यसप्रति आज पनि जनतामा एक किसिमको सम्मानभाव र विश्वास अटुट छ । तर, पछिल्ला दसकमा अहिलेका विद्यार्थी सङ्गठन र यसको नेतृत्वप्रति तमाम प्रश्न उठ्दै गएका छन् । किन विद्यार्थी सङ्गठनहरू विद्यार्थी समुदाय र शैक्षिक एजेन्डाहरूबाट विमुख भए ? किन विद्यार्थी सङ्गठनका नेताहरू मन्त्रीहरूका स्वकीय र सचिवालयमा थन्किँदै छन् ? किन यो बेरोजगार र लफङ्गाहरूको झुन्ड जस्तो बीआईसीसी र सिंहदरबारको गुनगान गाउँदै फन्को मार्दै छ ? किन आफ्नै पार्टीको पनि रचनात्मक प्रतिपक्ष हुनुपर्ने सङ्गठनका नेता कार्यकर्ताहरू अमूक नेताहरूको गुलामी र भजन मण्डलीमा रमाउँदै छ ? किन सङ्गठनका नेता कार्यकर्ताहरू शैक्षिक माफिया र विचौलियाहरूको सत्तासम्म पुग्न सहयोग गर्ने भर्याङ जस्ता हुँदै छन् ?

अवश्य पनि उपर्युक्त धेरै प्रश्न छन् जनमनमा । यी प्रशनहरू नयाँ पुस्ताका विद्यार्थी आन्दोलनको नेतृत्व गर्ने संघ–संगठन र त्यसका नेतृत्वका लागि नैतिक प्रश्न बनेर आएको छ । यसबारे हामी सङ्गठनमा काम गर्ने नयाँ पुस्ताका लागि मुख्य चुनौती पनि हो । यसको सही जवाफ नयाँ पुस्ताका विद्यार्थी नेतृत्वले अवश्य दिनुपर्दछ । अनि मात्र यो आन्दोलनले विगतको ओज र गरिमा पुनःस्थापित गर्न सक्दछ । जसका लागि नेपाली विद्यार्थी आन्दोलनको सोलोडोलो समीक्षा गरेर हुँदैन, यसका हरेक पाटा र पक्षबारेमा विगतदेखि अहिलेसम्मको वस्तुनिष्ठ समीक्षा गर्नुपर्दछ । यो आन्दोलनको अबको गन्तव्य र भविष्यबारे आन्दोलनसँग जोडिएका शिक्षण संस्थाको एकाइदेखि केन्द्रसम्म जोडिएका नेता–कार्यकर्ताहरू, अभिभावक र विद्यार्थीहरू सबै प्रगतिशील शक्तिहरूले गम्भीरतापूर्वक सोच्न जरुरी भएको छ । जसले हाम्रो विगतको सही र वस्तुनिष्ठ समीक्षा गर्दै नेपाली विद्यार्थी आन्दोलनलाई नयाँ ढंगले पुनर्संगठित गरोस् र हिजोको आफ्नो गौरवशाली इतिहासको जगेर्ना गर्दै अबको भरपर्दो विकल्प बनोस् । जसले यस क्षेत्रमा देखिएको सबै विकृति विसंगतिको हल गर्दै, अहिलेकै यही बुर्जुवा संविधानमै पनि भएको जनताको शिक्षासम्बन्धी मौलिक हकको कार्यान्वयनमा दबाब दिँदै समाजवादी शिक्षा प्राप्तिको आन्दोलन एक ईंट्टा थप्ने काम गरोस् । यो सबै नेपाली युवा विद्यार्थी, अभिभावकहरूको चाहना हो । यसका लागि हामीले विद्यार्थी आन्दोलनको विगतलाई प्रवृत्तिका हिसाबले दुई र समयका हिसाबले चार भागमा विभाजन गरेर समीक्षा गर्न आवश्यक ठानेका छौँ :