१८ माघ, काठमाडौं । बीएस राणाले जति नेपाली फिल्म खेले, अधिकांशमा उनी सम्पन्न परिवारको बुबाको भूमिकामा देखिए । उनको मौलिक अभिनय थियो, त्यसैले यस्तो भूमिकामा राणा निर्विकल्प जस्तै थिए ।
सेतो बाघ, वसन्तीजस्ता चलचित्रमा त उनी राजदरबारसँग नै जोडिएका थिए । उनको पहिरन, बोलीचाली हेर्दा र सुन्दा लाग्दैनथ्यो कि, उनको वास्तविक जीवन यति पीडादायी छ ।
बीएस राणाले अभिनय गरेको पछिल्लो चलचित्र दर्पण छाया २ मा उनी धनाढ्य हजुरबुबाको भूमिकामा देखिएका थिए । करोडपति होस् या नेपालीबाबु, बीएस राणाको भूमिका लोभलाग्दो थियो ।
तर, अन्त्य भने दुखान्त भयो ।
जीवनको अन्तिम कालखण्डमा उनी आर्थिक अभावसँग जुधिरहेका थिए । आर्थिक अभावसँग जुध्दाजुध्दै राणाको ७६ वर्षको उमेरमा शुक्रबार निधन भयो । आज्माको रोगी राणाको महाराजगन्जस्थित शिक्षण अस्पतालमा उपचारको क्रममा शुक्रबार निधन भएको हो ।
अस्पतालमा भेटिएका निर्देशक तुलसी घिमिरे स्तब्ध थिए । चलचित्र ‘अन्याय’मा काम गरेपछि राणा र घिमिरे निकट बनेका थिए । त्यसपछि लगातारसँगै काम गरेका घिमिरे सम्झन्छन् ।
उनका अनुसार कलाकार राणा भोलिबारे उति परवाह गर्दैनथे । ‘उनले आफ्नो भित्री दुःख कहिल्यै देखाएनन्’, घिमिरेले भने, ‘सरल र कसैले भनेको कुरा नकाट्ने खालका थिए ।’