१८ माघ, काठमाडौं । सरकारले कुटनीतिक नियोगलाई बोलाएर शान्ति प्रक्रियाका बाँकी काम आफै टुङ्गो लगाउन सक्षम रहेको बताएको छ ।
सरकारको पछिल्लो धारणाबारे जानकारी दिन राजधानीमा शुक्रबार आयोजित ब्रिफिङमा परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले आधारभूत रुपमा शान्ति प्रक्रिया टुंगिएको र बाँकी काम पनि आन्तरिक रुपमै सम्पन्न गर्न सक्षम रहेको बताएका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित कार्यक्रममा मन्त्री ज्ञवालीले अकल्पनीय राजनीतिक मुद्दालाई यहाँसम्म ल्याउन सफल नेताहरू शान्ति प्रक्रियाका बाँकी कामलाई पूर्णता दिन पनि सक्षम रहेको बताए । उनले विस्तृत शान्ति सम्झौताको मर्म, अन्तर्राष्ट्रिय समुदायसँग गरेको प्रतिबद्धता, पीडितहरूको सरोकार, त्यससम्बन्धमा सर्वोच्च अदालतले गरेको फैसलालगायतका मार्गदर्शन सिद्धान्तको आधारमा शान्ति प्रक्रियाको बाँकी काम सम्पन्न गर्न सरकार तयार रहेको उल्लेख गरे ।
द्वन्द्वकालका मानवअधिकारको गम्भीर उल्लंघनका घट्नाका दोषीलाई आममाफी दिने पक्षमा सरकार नरहेको ज्ञवालीको लिखित मन्तव्यमा उल्लेख छ । ‘हामी पीडितलाई न्याय दिने छौं तर हामी मेलमिलाप प्रक्रियालाई सहज र दिगो बनाउन चाहन्छौं’, ज्ञवालीले भने ।
सरकारको प्रमुख लक्ष्य, विदेश नीति र यो सरकार गठन भएपछिका कुटनीतिक गतिविधिको बारेमा कुटनीतिक समुदायलाई जानकारी दिएको हो । परराष्ट्र मन्त्री ज्ञवालीले समृद्ध नेपाल, सुखी नेपालीको नारालाई मूर्तरुप दिन सरकार दत्तचित्त भएर लागेको बताए ।