रुसलाई धम्काउँदै अमेरिकाले तोड्यो आईएनएफ सन्धि, परमाणु निरस्त्रीकरणमा झट्का

१९ माघ, काठमाडौं । अमेरिकाले इन्टरमिडियट रेन्ज न्युक्लियर फोर्स (आईएनएफ­) सन्धि तोडेको घोषणा गरेको छ ।

१९८७ मा तत्कालीन सोभियत संघका राष्ट्रपति मिखाइल गोभाचोभ र अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनले यस सन्धिमा हस्ताक्षर गरेका थिए । आईएनएफले जमिनबाट मार हान्ने मध्यम दुरीको मिसाइलको परीक्षण र परिचालनलाई रोक्दछ । यी मिसाइलबाट ५ सयदेखि ५ हजार ५ सय किलोमिटर टाढासम्म मार हान्न सकिन्छ ।

शीत युद्धको क्रममा भएको परमाणु हतियारसँग सम्बन्धित यो सन्धि तोडिनुलाई परमाणु निरस्त्रीकरणमा ठूलो झट्का मानिएको छ ।

लामो समयदेखि रुसलाई धम्काउँदै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्तमा कडा रवैया देखाउँदै आईएनएफ सन्धि स्थगित गरिदिएको बीबीसीले लेखेको छ । रुसले वर्षौंसम्म यस सन्धिको उल्लंघन गरेर अमेरिका र यूरोपको सुुरक्षालाई संकटमा पारेको आरोप अमेरिकाले लगाएको छ ।

ट्रम्पले भनेका छन्, ‘एक पक्षले यस सन्धिको पालना गरिरहेको छैन । हामीले पालना गरिरहेका छौं । तर दोस्रो पक्षले गरिरहेको छैन । जबसम्म उसले यसको पालना गर्दैन, हामीले पनि गर्दैनौं ।’